• १६ चैत्र २०८०, शुक्रबार
‘थिरिमाली’मा स्वस्तिमा अनुबन्ध


काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले साउथ फिल्ममा डेब्यू गर्ने भएकी छन् । नेपाल र भारतमा छायांकन हुन लागेको दक्षिण भारतीय फिल्म ‘थिरिमाली’ मा उनले अभिनय गर्न लागेकी हुन् ।

बिहीवार राजधानीको निर्माण टिमले खड्कासँग कागजी सम्झौता गरेको हो । अहिले फिल्मको निर्देशक र निर्मातासहितको टोली लोकेशन र कलाकार छनोटका लागि नेपालमा छ ।

स्वस्तिमाले सामाजिक सञ्जालको माध्यमबाट साउथ फिल्म ‘थिरिमाली’ साइन गरेको जानकारी दिँदै यसले आफूलाई सिक्न र करिअरमा अगाडि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन् ।

फागुन अन्तिम साताबाट छायांकन सुरु हुन लागेको फिल्म ‘चिसो मान्छे’ पछि उनले यो फिल्मका लागि समय छुट्याउनेछिन् । ‘थिरिमाली’ को छायांकन भने चैत पहिलो साताबाट सुरु हुँदैछ ।

स्वस्तिमाले महंगो पारिश्रमिक बुझेर फिल्ममा आबद्ध भएको बुझिएको छ । तर, फिल्ममा उनको भूमिकाबारे भने निर्माण टिमले कुनै जानकारी दिएको छैन ।

राजिव सेट्ठीले निर्देशन गर्ने फिल्मको ७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा छायांकन हुनेछ । फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज्सँग नेपालको तर्फबाट अनन्या फिल्मस्ले सहकार्य गरेको छ ।

फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकार माओत्से गुरुङको पनि अभिनय रहने जानकारी प्राप्त छ ।

नेपाली, हिन्दीसँगै दक्षिण भारतका विभिन्न भाषामा फिल्म निर्माण हुनेछ । निर्माण टिमले फिल्मको मोशन पोस्टर समेत सार्वजनिक गरिसकेको छ । काठमाडौं र मुस्ताङमा फिल्मको छायांकन गरिनेछ ।

Nabintech