• १६ चैत्र २०८०, शुक्रबार
टेष्ट सिरिजः तेस्रो खेलमा भारतको जीत निश्चित


काठमाडौं । इंग्ल्याण्डले तेस्रो टेष्ट जितका लागि भारतलाई ४९ रनको लक्ष्य दिएको छ।

दोस्रो इनिङ्समा इंग्ल्याण्ड ८१ रनमै अलआउट भएपछि भारतले ४९ रनको सामन्य लक्ष्य पाएको हो।

दोस्रो इनिङ्समा इंग्ल्याण्डका लागि बेन स्टोक्सले २५, कप्तान जो रुटले १९, ओली पोपले १२ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

बलिङमा स्पिनर अक्षर पटेलले उत्कृष्ट बलिङ गरे। उनले १५ ओभरमा ३२ रन खर्चिएर पाँच विकेट हात पारे।

यस्तै, रविचन्द्रन आश्विनले चार र वासिङ्टन सुन्दरले पनि एक विकेट लिए।

त्यसअघि पहिलो इनिङ्समा भारत १ सय ४५ रनमा अलआउट भएको थियो।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा दोस्रो दिन भारत ५३.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४५ रनमा समेटिएको हो।

उसका लागि ओपनर रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले। उनले ९६ बलमा ११ चौकाको मद्दतमा सर्वाधिक ६६ रन बनाए।

यस्तै, कप्तान विराट कोहलीले २७, रविचन्द्र आश्विनले १७, शुभमन गिलले ११ र इशान्त शर्माले नटआउट १० रनको योगदान दिए।

बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतका ३ ब्याट्सम्यान शून्य रनमा आउट भए। जसमा चेतेश्वर पुजारा, अक्षर पटेल र वाशिंगटन सुन्दर छन्।

बलिङमा कप्तान जो रुटले घातक बलिङ गरे। उनले ६.२ ओभरमा ३ मेडन राख्दै मात्र ८ रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिए।

यस्तै,ज्याक लिचले ४ र जोफ्रा आर्चरले एक विकेट लिए।

त्यसअघि पहिलो इनिङ्समा इंग्ल्याण्ड एक सय १२ रनमा समेटिएको थियो। अहमदाबादमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड ४८।४ ओभरमा सबै विकेट गुमाउँदै एक सय १२ रनमा अलआउट भएको हो।

उसका लागि ज्याक क्रोलीले सर्वाधिक ५३ रन बनाए।

यस्तै, कप्तान जो रुटले १७, बेन फक्सले १२ र जोफ्रा आर्चरले ११ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

इंग्ल्याण्डलाई सस्तैमा समेट्ने क्रममा भारतका अक्षर पटेलले घातक बलिङ गरे। उनले २१।४ ओभरमा ३८ रन खर्चिएर सर्वाधिक ६ विकेट लिए।

यस्तै रविचन्द्र अश्विनले ३ र इशान्त शर्माले १ विकेट हात पारे। दुई टिमबीचको चार खेलको सिरिज १–१ को बराबरीमा रहेको छ ।

पहिलो खेलमा २ सय १७ रनको फराकिलो हार ब्यहोरेको भारतले दोस्रो टेष्टमा भने उत्कृष्ट पुनरागमन गरेको थियो। उसले दोस्रो टेष्टमा इंग्ल्याण्डलाई ३ सय १७ रनले हराएको थियो। सिरिजको पहिलो दुई टेष्ट चेन्नईमा भएका थिए।

Nabintech