दया र प्रकृतिको ‘बिहे पास’का लागि अडिसन सुरु


काठमाडौं । सरकारले सिनेमा हल सञ्चालन र छायांकनका लागि अनुमति दिएपछि कोरोनाका कारण करीब १० महिना ठप्प भएको फिल्म क्षेत्रमा चहलपहल सुरु भएको छ ।

तत्काल सिनेमा हलमा नयाँ फिल्म प्रदर्शन गर्न निर्माताहरु उत्साहित नदेखिए पनि फिल्म निर्माण धमाधम भइरहेको छ । अहिले केही फिल्म फ्लोरमा छन् भने दुई दर्जन बढी फिल्म छायांकनमा निस्कने तयारीमा छन् ।

लकडाउनपछि निर्माण घोषणा भएका फिल्मले अडिसन आह्वान गर्दै कलाकारको खोजी समेत गरिरहेका छन् । यस्तैमा, प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘बिहे पास’ ले पनि अडिसनबाट कलाकार छान्ने भएको छ ।

फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । बाँकी कलाकारका लागि निर्माण टिमले ‘कास्टिङ कल’ गरेको हो ।

फिल्मका लागि २० देखि ६५ बर्षसम्मका २२ जना पुरुष र २०, २६, ४०, ५० र ६७ बर्षका ५ जना महिला कलाकारको आवश्यकता रहेको निर्देशक पौडेलले बताए ।

कथाको माग अनुसार ‘कास्टिङ कल’ गरिएकाले नयाँ र अनुभवी कलाकारले अडिसन दिन पाउने निर्माण टिमले जनाएको छ । अडिसन फागुन ११ र १२ गते नेपाल फिल्म कास्टिङ कम्पनी ग्वार्को (ललितपुर) मा हुनेछ ।

अडिसनमा सहभागी हुन इच्छुकले [email protected] मा इमेल गर्न सक्नेछ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सह निर्माता ग्याल्जेन लामा छन् ।

तराई भेगमा खिचिने फिल्मको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले लेखेका हुन् । सामाजिक विषयमा निर्माण गर्न लागिएको फिल्म भरपुर मनोरञ्जनात्मक हुने निर्माण पक्षको दाबी छ ।

Nabintech