सुदूरपश्चिम प्रदेशमा थप तीन जलविद्युत् आयोजना निर्माण हुँदै, कुन कति क्षमताको ?


काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप तीन जलविद्युत् आयोजना निर्माण भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले २२ दशमलव ४३ मेगावाट विद्युत उत्पादन क्षमताका तीनओटा जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।

प्रदेश सरकारले दार्चुलामा ६ दशमलव ९७ मेगावाटको विद्युत उत्पादन क्षमताको नौगाड जलविद्युत आयोजना, बैतडीमा ७ दशमलव ७१ मेगावाट क्षमताको सुर्नयागाड जलविद्युत आयोजना र सुर्नयागाडबाटै ७ दशमलव ७५ मेगावाट विद्युत उत्पादनका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।

६ दशमलव ९७ मेवा क्षमताको नौगाड र ७ दशमलव ७५ मेवा उत्पादन क्षमताको सुर्नयागाडबाट प्रदेश सरकारले विद्युत उत्पादनका लागि प्रारम्भिक वातावरणीय प्रभाव अध्ययनसहित विस्तृत संभाव्यता अध्ययनको काम भइरहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, ७ दशमलव ७१ मेगावाट विद्युत उत्पादन क्षमताको सुर्नयागाड जलविद्युत आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव अध्ययनसहित विस्तृत संभाव्यता अध्ययनका लागि मरामर्शदाता छनौटको लागि मूल्यांकनको काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले वैकल्पिक उर्जाको विकास र प्रवर्द्धनका लागि समेत पूर्व संभाव्यता अध्ययनको काम सम्पन्न गरेको उनले बताए । आगामी आर्थिक वर्ष २०७८÷७९ देखि तीनओटै आयोजनाबाट गरी कुल २२ दशमलव ४३ मेगावाट विद्युत उत्पादनका लागि श्रोत सुनिश्चिततासहित निर्माण प्रक्रिया थालिने मन्त्रालयले जानकारी दिएको छ । प्रदेशभित्र हाल विद्युतको माग ७० मेगावाट रहे पनि उत्पादन भने साढे ४९ मेगावाट मात्र भइरहेको छ ।

नेपाल सरकारले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना, दार्चुलामा अपि पावर कम्पनीले निर्माण गरेको ८ मेगावाट र अपिले नै उत्पादन गरेको १ दशमलव ५ मेगावाट र कापडीगाडबाट निजीक्षेत्रले उत्पादन गरेको ३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सुदूरपश्चिमको कुल विद्युत् उत्पादन ४९ दशमलव ५ मेगावाट पुगेको हो ।

प्रदेशका ९ ओटै जिल्लामा गरी नेपाल विद्युत् प्राधिकरणले ६४ दशमलव ६९ प्रतिशत घरधुरीमा नियमित विद्युत् आपूर्ति गर्दै आएको विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जगदीश जोशीले बताए । त्यस्तै राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाईबाट थप ४ दशमलव ७१ मेगावाटको विद्युत् उत्पादन भएपछि प्रदेशवासी विद्युत समस्याबाट करीब करीब मुक्त हुने उनले बताए ।

सो आयोजनाबाट चालू आवभित्रै सक्ने गरी जलविद्युत् आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । जलविद्युत् आयोजनाको पावर हाउसको राफ्ट फाउन्डेसन, बाइपास च्यानल तथा टेलरेस निर्माण सकिएको छ ।

 

Nabintech