• १४ बैशाख २०८१, शुक्रबार
कोरोना कहरकै बीचमा आठ खर्बको आयात, कुन महिना कति ?


काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ ।

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो सात महिनामा आठ खर्ब बढीको आयात भएको छ । विभागले सार्वजनिक गरेको सात महिनाको ‘साउनदेखि माघ मसान्तसम्म’ तथ्याङ्कअनुसार आठ खर्ब तीन अर्ब ६४ करोड बढीको आयात भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव शून्य एक प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा आठ खर्ब तीन अर्ब बढीको आयात भएको थियो ।

यसैगरी सात महिनाको अवधिमा ६९ अर्ब ९१ करोड ७० लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अबधिको तुलनामा ७.६१ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

गत आवमा सोही अवधिमा ६४ अर्ब ९७ करोड १२ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटामा शून्य दशमलव ६६ प्रतिशतले सुधार भएको छ ।

वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ र निर्यातको हिस्सा आठ प्रतिशत छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०.५७ प्रतिशतले घटेको छ ।

विभागको तथ्याङ्कअनुसार सात महिनामा आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले सात खर्ब ३३ अर्ब ७२ करोड घाटा बेहोरेको छ ।

अघिल्लो आवको यसै अवधिको तुलनामा ५.८० प्रतिशतले गिरावट हो । गत माघमा मात्रै गत आव भन्दा ३१ प्रतिशत बढीको वस्तु आयात भएको छ । गत वर्षको माघमा एक खर्ब आठ अर्ब ९० करोडको आयात भएकामा यो माघमा एक खर्ब ४२ अर्ब ३९ करोडको आयात भएको हो ।

कुन महिना कति आयात

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो महिना ‘साउन’ मा ८५ अर्ब ८० करोड, भदौमा ९३ अर्ब चार करोड र असोजमा एक खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो ।

यसैगरी कात्तिकमा एक खर्ब १० अर्ब २२ करोड, मंसिर महिनामा एक खर्ब २३ अर्ब एक करोड, पुसमा एक खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ ।

हालसम्मकै धेरै माघ महिनामा एक खर्ब ४२ अर्ब ३९ करोड बराबरको विदेशी वस्तु आयात भएको छ । सात महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ ।

सात महिनामा ३९ अर्ब ७० करोड बढीको डिजेल आयात भएको छ । गत पुसमा ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको थियो ।

 

Nabintech