• १४ बैशाख २०८१, शुक्रबार
प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई कुण्ठित गर्ने कुरामा आशंका नगर्न सञ्चारमन्त्री गुरुङको आग्रह

प्रेस पास नवीकरणको अवधि ५ वर्षको पुर्‍याउने तयारी



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति आफूले सम्मान गर्ने बताएका छने ।

बुधबार नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनको उद्घाटन गदैं सञ्चारमन्त्री गुरुङले सरकारले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्ने कुराको आशंका नगर्न पनि आग्रह गरे ।
मन्त्री गुरुङले जुन सूचनाको माध्यमबाट हिंसा, अशान्ति, द्वन्द्व सिर्जना हुन्छन् त्यसको व्यवस्थापनबारे सोच्दै सरकारले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका ल्याउनेतर्फ आफ्नो ध्यान गएको बताए । सोसल मिडियाहरु पनि कानुनी प्रक्रियामा आउनुपर्ने उनको भनाइ छ । विश्वभर सामाजिक सञ्जाल नियमन गर्नेबारे छलफल चलेको भन्दै उनले नेपालमा पनि सामाजिक सञ्जाल नियमन आवश्यक रहेको बताए ।

मन्त्री गुरुङले पत्रकारहरुले भोग्ने गरेको प्रेस पासको समस्या समाधान गर्न आफूले ध्यान दिएको बताए । प्रेस पास नवीकरण हुलाक कार्यालयबाटै गर्न सकिने निर्णय गराएको उनको भनाइ छ । प्रेस पास वर्षैपिच्छे नवीकरण गर्ने व्यवस्थाको अन्त्य गर्दै प्रेस पासको अवधि न्युनतम पाँच वर्ष पुर्‍याउन मन्त्रालयका तर्फबाट प्रक्रिया अगाडि बढाउने पनि उनले जानकारी दिए ।

त्यसैगरी, पत्रकारिकता क्षेत्रलाई गुणस्तरीय बनाउन पत्रकारका लागि प्रशिक्षण केन्द्र स्थापनाको निम्ति आगामी आर्थिक वर्षमा नीति, कार्यक्रम तथा बजेट ल्याउने मन्त्री गुरुङको भनाइ छ ।
उनले अनलाइन सञ्चारमाध्यमहरु पौष मशान्तसम्म नवीकरण गरिसक्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै वर्षभरी गर्न सकिने व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।
लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यम तथा केवल टिभीलाई पनि दिन सकिने गरी कार्यविधि बनाउने तथा लोककल्याणकारी विज्ञापनको कोष वृद्धि गर्ने पनि उनले बताए ।उनले दश करोड रुपैयाँको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने पनि बताए ।

 

Nabintech