• १४ बैशाख २०८१, शुक्रबार
आवश्यक कागजात पेश नगर्ने ६ कम्पनीलाई धितोपत्र बोर्डले पाइपलाइनबाट हटायो


 

काठमाडौं । धितोपत्र निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएर समयमै प्रक्रिया पूरा नगर्ने कम्पनीहरुको आवेदन क्यानसील गरेको छ ।

आइपीओ, एफपीओ, राइट सेयर, डिबेञ्चर, म्युचुअल फण्ड जस्ता सार्वजनिक निष्कासनका लागि बोर्डमा आवेदन दिएर माग गरिएको कागजात ६ महिनासम्म पनि पेश नगर्ने कम्पनीको आवेदन बोर्डले क्यानसील गर्न शुरु गरेको हो ।

कम्पनीहरुले सार्वजनिक निष्कासनका लागि आवेदन दिएर त्यसमा थप प्रक्रिया पूरा गर्न वेवास्ता गर्न थालेपछि सो निर्णय गरिएको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए ।

‘आवेदन दिएको ६ महिना बढी भएपछि कम्पनीको अर्धवार्षिक वित्तीय विवरण नै परिवर्तन भइसकेको हुन्छ,’ उनले भने, ‘बोर्डले सार्वजनिक निष्कासनको विनियमावली अनुसार कागजात माग गरेको हुन्छ । सो अनुसार ६ महिनासम्म पनि कागजात प्राप्त नभएमा कम्पनीको आवेदन पाइपलाइनबाट बोर्डले हटाउँछ ।’

पाइपलाइनबाट हटेको आवेदन कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी पुनः दर्ता गराएर सार्वजनिक निष्कासनको विनियमावली र निर्देशिकाले तोकको कागजात समयमा नै पेश गरेमा मात्र बोर्डले स्वीकृति दिने उनले जानकारी दिए

आइपीओको पाइपलाइनबाट हट्ने कम्पनीहरु

धितोपत्र बोर्डमा हालसम्म १५ वटा कम्पनीको ५ अर्ब १५ करोड ५१ लाख २ हजार ५ सय रुपैयाँ बराबरको आइपीओ पाइपलाइनमा छन् । जसमा ३ वटा कम्पनीको बोर्डले अन्डर प्रिलिमेनरी रिभ्यु गरेको छ । साथै, १२ वटा कम्पनीको रिभ्यु एण्ड कमेन्ट पठाएको छ भने ६ वटा कम्पनीको आइपीओमा रिप्लाइ एण्ड रिभ्यू गरेको छ ।

बोर्डले रिभ्यु एण्ड कमेन्ट पठाएर रिप्लाइ नगरेका ६ वटा कम्पनीहरु छन् । जसमा बोर्डले डिश मिडीया नेटवर्कलाई र बिन्दावासिनी हाइड्रोपावरलाई ०७७ असोज १९ गते रिभ्यु एण्ड कमेन्ट गरी सकेको थियो । तर कम्पनीले त्यसमा आवश्यक थप प्रक्रिया पुरा गरेको छैन ।

यस्तै, बोर्डले इर्मजिङ नेपाललाई ०७६ साउन ५ गते, हिमालयन हाइड्रोपावरलाई ०७६ असोज १४ गते, तेह्रथुम पावर कम्पनीलाई ०७५ असार १२ गते र शुभम् पावरलाई ०७५ फागुन ५ गते रिभ्यु एण्ड कमेन्ट गरी सकेको थियो । तर कम्पनीहरुले त्यसमा आवश्यक थप प्रक्रिया पुरा गरेको छैन ।

यी कम्पनीहरुमा इर्मजिङ नेपाल, तेह्रथुम पावर कम्पनी र शुभम् पावर कम्पनीको बोर्डले माग गरेको कागजात पठाउने समय सकिसकेको छ । भने, डिस मिडिया नेटवर्क, हिमालयन पावर कम्पनी र बिन्दावासिनी हाइड्रोपावरको कागजात पेश गर्ने समय सीमा चाँडै पूरा हुँदैछ ।

Nabintech