• १३ बैशाख २०८१, बिहीबार
राष्ट्रपतिमाथि अमर्यादित बोलेको कसुरमा रामकुमारी झाँक्री पक्राउ

राज्यविरुद्धको कसुर गरेको आरोप



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अमर्यादित बोलेको आरोपमा नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे गोरखामा दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घर शंखमुलबाट पक्राउ गरेको हो ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध गोरखामा आयोजित विरोधसभामा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गर्दै उजुरी गरेको थियो । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले अनेमसंघले दिएको उजुरीका आधारमा झाँक्रीलाई प्रकाउ गरेको जानकारी दिनुभयो ।

झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा सादा पोशाकका दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए ।

झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड माधव समूहका धेरै कार्यकर्ता भेला भएका थिए । पक्राउ पर्नुअघि उनले सम्बोधन गर्दै आफू राज्यको कानुनको पालक भएको बताएकी थिइन् ।

 

Nabintech