सेतो प्लेटका सवारी साधनले आगामी महिनाभित्र इम्बोस्ड नम्बर प्लेट लिइसक्नुपर्ने


काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामा नै अघि बढाएको छ । नेपाल प्रज्ञाप्रतिष्ठान र विभिन्न भाषा विज्ञले नं नेपालीमा हुनुपर्ने माग गरे पनि आर्थिक भार पर्ने भनी विभागले अंग्रेजीमा नै गरिने बताएको हो । विभागले विभिन्न कार्यालयमार्फत इम्बोस्ड नं प्लेट वितरण अघि बढाइरहेको छ । नयाँ सबै सवारीसाधनमा र थोरै संख्यामा पुरानो सवारी साधनमा इम्बोस्ड नं प्लेट वितरण भइरहेको छ ।

सो नं प्लेटका लागि उपकरणमा अंग्रेजी भाषामा नै प्रणाली अघि बढेको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार पुनः नेपाली भाषामा गर्दा शुरुदेखि नै गर्नुपर्ने भएकाले समय र खर्च दुवै लाग्छ । उनले भने, “शुरुमा भए गर्न सकिने थियो अहिले काम अघि बढिसकेको छ ।” प्रतिष्ठानका पदाधिकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर नं प्लेट नेपाली भाषामा हुनुपर्ने माग गरेका थिए ।

सोही आधारमा छलफल अघि बढेपनि नेपालीमा गर्ने सम्बन्धमा कुनै निर्णय भएको थिएन । व्यावहारिक रुपमा पनि अंग्रेजी भाषा नै ठीक हुने निर्देशक पौडेलले बताए । उनले भने, “अन्तराष्ट्रिय भाषा हुँदा सबैले बुझ्ने हुन्छ ।”मन्त्रालयले गत साउनदेखि वाग्मती प्रदेशबाट सवारी साधनमा इम्बोस्ड नं प्लेट वितरण शुरु गरेको थियो । सवारीधनीले दुईपांग्रे सवारीसाधनका लागि गुर्जुधारास्थित कार्यालय, तीनपाँग्रे साना तथा मझौला चारपाँग्रे सवारी साधनको नं लिनका लागि टेकुस्थित भेहिकल फिटनेस सेन्टर जानुपर्नेछ ।

त्यस्तै, ठूला सवारीसाधनका लागि एकान्तकुनास्थित यातायात कार्यालय र सरकारी नं प्लेटका लागि विभागमा जानुपर्ने बताइएको छ । सवारीधनीले सो नं प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाँग्रे सवारीसाधनका लागि दुई हजार ५००, चारपाँग्रे साना तथा मझौला सवारीका लागि तीन हजार २०० र ठूला सवारीका लागि तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।

सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नं प्लेट बापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ । यता, विभागले सरकारी नं प्लेटका सवारी साधनलाई फागुनसम्ममा सो नं प्लेट लिइसक्नुपर्ने अनिवार्य गरेको छ ।

Nabintech