• १६ चैत्र २०८०, शुक्रबार
दाहाल–नेपाल समूहले गरेको हड्तालमा १ सय ८८ जना पक्राउ,३३ सवारी तोडफोड


काठमाडौँ । नेकपा (दाहाल–नेपाल समूह)ले गरेको हड्तालका कारण बिहीबार मुलुकभरको जनजीवन प्रभावित भएको छ ।

गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्‍चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्‍चालन भए पनि ठूला सवारी भने सञ्‍चालन हुन सकेनन् । बजार पसल भने दिनभर बन्द नै रहे ।

राजधानी बाहिर भने उपत्यकामा जस्तो बन्दको ठूलो प्रभाव नपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार आज साविकको तुलनामा झण्डै ४५ प्रतिशत सवारी सञ्‍चालन भएको जानकारी दिए । धेरै जिल्लाबाट सुरक्षा सतर्कताका साथ ढुवानी र यात्रुबाहक सवारी काठमाडौँ भित्रिएका प्रहरीले जनाएको छ ।

बन्दका क्रममा सवारी सञ्‍चालन गरेको भन्दै बन्दकर्ताले काठमाडौँको सामाखुसीमा बिहानै एउटा ट्याक्सीमा आगजनी गरेका थिए । प्रहरीका अनुसार मुलुकभर गरेर एउटा गाडीमा आगजनी गरिएको र ८६ वटा गाडीमा तोडफोड भएको छ । त्यसमध्ये तीन वटा सरकारी गाडी रहेको प्रहरीले जनाएको छ ।

प्रदर्शन तथा तोडफोडमा उत्रिएका १८८ व्यक्ति पक्राउ परेका र छानबिनपछि ४० जनालाई छाडिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए । अन्यको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाएको भन्दै निर्वाधरूपमा सवारी तथा उद्योग व्यवसाय सञ्‍चालन गर्न सर्वसाधारणमा अनुरोध गरेको थियो । (रासस)

Nabintech