नेकपा पार्टी फुटेर चुनावमा गए पहिलो पार्टी कांग्रेस बन्छ:बामदेव गौतम


काठमाडौं । पार्टी फुटेर चुनावमा गए पहिलो पार्टी कांग्रेस बन्ने (नेकपा) उपाध्यक्ष वामदेव गौतमले बताएका छन् ।

बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उनले भने ‘अहिले विभाजित नेकपाका दुवै पक्षले निर्वाचनबारे आ–आफ्नै दावी पेश गरिरहेको भन्दै केपी शर्मा ओली पक्षले वैशाखमा हुने निर्वाचनमा आफ्नो पक्षले दुई तिहाइ ल्याउने र प्रचण्ड माधव पक्षले २ वर्षपछि हुने निर्वाचनमा ल्याउने भनिरहे पनि त्यो विश्वास गर्न नसकिने गौतमको भनाई छ ।

गौतमले अघिल्लो निर्वाचनको हिसाव किताव सुनाउँदै गत चुनावमा पार्टी एकता गरेर जाँदा नेकपाको पक्षमा लहर आएको र जम्मा ४३ लाख मत आएको पनि सुनाए । उनले त्यसबेला काँग्रेसले ३० लाख मत ल्याएको भन्दै अहिलेको अवस्थामा नेकपामा लहर नआउने बताए । ‘अहिलेसम्म ५,७ लाख मतदाता बढे होलान् । दुईतर्फ भोट बाँडिदा २१–२१ लाख हुन्छ । २२ लाख मात्रै अर्को पार्टीले मत प्राप्त गर्यो भने हामीलाई पछार्छ’, गौतमको भनाई छ ।

उनले काँग्रेसको भोट बढ्ने प्रक्षेपण गर्दै पहिल्यै ३० लाख ल्याएकोमा अब झन् बढ्ने हिसाब सुनाए । पार्टी अलग–अलग भएर चुनाव लड्दा पराजित हुने भन्दै दुई चार ठाउँमा जित्न सकिए पनि अर्कै पार्टी सरकारमा पुग्ने पक्का भएको बताए ।

विभाजनमा प्रचण्ड र ओली बराबर दोषी

नेता गौतमले  नेकपा विभाजन हुनुमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बराबरी दोषी रहेको पनि आरोप पनि लगाएका छन् ।

‘पुस ५ गते एउटाले अविश्वास प्रस्ताव राखेर प्रधानमन्त्री हटाउने र विकल्पमा प्रधानमन्त्री हुने, अर्कोले तिमीले बहुमत पुर्‍याउन अनेक गर्दैछौ, त्यसो गरे प्रतिनिधिसभा भंग गरिदिन्छु भनेर अनेक पटक सांकेतिक भाषामा भनिरहनुभएको थियो अचानक भंग गरिदिनुभयो’ उनले भने ।

पार्टी विभाजनका लागि गरेको गल्तीलाई तराजुमा नाप्दा प्रचण्ड र ओलीको बराबरी भूमिका देखिएको गौतमको भनाइ छ । ‘पार्टी विभाजनमा कसैको बढी कसैको घटी भूमिका देख्दिन । संसद विघटनको क्षति अर्को पक्ष हो भयो, तर पार्टी विभाजन हुनको निम्ति दुबै नेताको बराबरी भूमिका छ, एउटाको बढी, अर्कोको घटी छैन’ उनले भने ।

प्रचण्ड र केपी ओलीतिर भएका कार्यकर्ता एकता अभियानतिर ल्याएपछि पार्टी एकता भएरै छाड्ने उनले जिकिर गरे । ‘पार्टी एकता हुँदै भएन भने के गर्ने ? भन्ने पनि साथीहरुको जिज्ञासा छ’ उनले भने ‘हुँदै भएन भने तयतिबेला हाम्रो केन्द्रीय कमिटी बसेर निर्णय गरौंला ।’

पार्टीमा ठूला नेता विभाजित भए पनि दोस्रो र तेस्रो पुस्ताका नेताहरु अत्यन्त चिन्तित रहेको गौतमले बताए ।

Nabintech