• १६ चैत्र २०८०, शुक्रबार
अनुहारमा झुक्किएर पनि नलगाउनुस् यी १० चिज


धेरै मानिसहरू अनुहार राम्रो बनाउने चक्करमा विभिन्न सामग्री लगाउँछन् । तर, अनुहारमा के लगाउनु हुन्छ वा हुँदैन भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ । आउनुस् मुखमा लगाउनै नहुने यी १० चिजबारे चर्चा गरौँ स्

१) नुहाउने साबुन र स्याम्पु

नुहाउने साबुन र कपालमा लगाउने स्याम्पुमा ‘सल्फेट’ भन्ने पदार्थ हुन्छ । सल्फेट धेरै किसिमका हुन्छन् । त्यसमध्ये साबुन र स्याम्पुमा ‘सोडियम लौरल सल्फेट’ राखिएको हुन्छ । यसले धेरै फिज निकाल्ने काम गर्छ । तर, यो पदार्थ अनुहारमा प¥यो भने यसले अनुहारको म्वइस्चरलाई कम गरिदिन्छ । र, हाम्रो अनुहारको छाला सुख्खा हुन थाल्छ ।

२) धेरै तातो पानी र धेरै चिसो पानी

विशेषगरी जाडो महिनामा बिहान उठ्ने बित्तिकै धेरैले तातो पानीले मुख धुन्छन् । तर, त्यसले पनि हाम्रो छालामा भएको म्वइस्चरालाई कम गरिदिन्छ । त्यसैले हामीले धेरै तातो पानीले मुख धनु हुँदैन । त्यस्तै, धेरै चिसो पानीले पनि मुख धुनु हुँदैन । अनुहारको छालाका लागि मनतातो पानी उपयुक्त मानिन्छ ।

३) स्टेरोइड मलम

स्टेरोइड भन्ने औषधी छाला रोग भएको बेलामा प्रयोग गरिन्छ । तर, यो औषधीको जथाभावी प्रयोग गर्नाले नराम्रो असर देखिन्छ । मुखमा स्टेरोइड औषधी प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । किनभने, लामो समयसम्म स्टेरोइड लगायो भने त्यसले अनुहारको छालालाई पातलो गराउँछ । सेन्सेटिभ बनाउँछ । रगतका नशाहरू देखिन्छ र अनुहारको छाला रातो हुन्छ । एलर्जी, दाग, पोतो हुँदा धेरैले यो औषधी प्रयोग गर्छन् । तर, स्टेरोइड डाक्टरको सल्लाहमा मात्रै प्रयोग गर्नुपर्छ ।

४) कागतीको रस

कागतीको रसमा ‘भिटमिन सी’ को मात्रा धेरै हुन्छ । कागती रस खानको लागि ठिक छ । तर, अनुहारमा लगाउन यो ठिक छैन । कागतीको रसमा भएका एसिडले अनुहारको छालालाई नराम्रो असर गर्छ । कागतीको रस लगाएर घाम वा उज्यालोमा निस्किदा एलर्जी समेत हुन्छ । त्यो एलर्जीले छालामा नराम्रो दाग बसाउँछ ।

५) बडी लोसन र म्वइस्चराइजर

शरीरका लागि बनाइएका बडी लोसन र म्वइस्चराइजर अनुहारमा लगाउनु हुँदैन । कहिलेकाहिँ हामीले मुखमा लगाउने लोसन र म्वइस्चराइजर सकिएर शरीरमा लगाउने लोसन र म्वइस्चराइजर लगाउँछौँ । त्यसमा अलि कडा खालका रसायनिक पदार्थ हुन्छन् । जसले अनुहारको कोमल छालालाई राम्रो गर्दैन । तर, बजारमा शरीर र अनुहार दुबैमा लगाउने म्वइस्चराइजर पाइन्छ । त्यसले भने मुखमा असर गर्दैन ।

६) नरिवलको तेल

छाला सुख्खा भएका धेरैले नरिवलको तेल लगाउँछन् । छालाको लागि नरिवलको तेल राम्रो मानिन्छ । धेरै छालारोग विशेषज्ञले पनि छालामा नरिवलको तेल लगाउन सुझाउँछन् । तर, नरिवलको तेल शरीरको लागि उपयुक्त भए पनि अनुहारका लागि उपयुुक्त हुँदैन । विशेषगरी डण्डीफोर आउने र छाला चिल्लो हुनेले नरिवलको तेल लगाउनु हुँदैन । नरिवलको तेल मुखका लागि बाक्लो हुन्छ । जसले छालामा भएका तेलका ग्रन्थीका प्वाललाई थुनिदिन्छ । र, डण्डीफोरहरू आउँछ थाल्छ ।

७) हेयर स्प्रे

मेकअप सेट गर्नका लागि धेरैले हेयर स्प्रे लगाउँछन् । तर, हेयर स्प्रेमा मुखलाई असर गर्ने किसिमका केमिकल हुन्छन् । जसले हाम्रो छालामा भएको तेलका ग्रन्थीलाई बन्द गर्ने काम गर्छ ।

८) भ्यास्लिन

छाला रोग विशेषज्ञले भ्यास्लिन शरीरमा लगाउनका लागि सिफरिस गर्छन् । तर, नरिवल जस्तै भ्यास्लिन पनि अनुहारका लागि धेरै उपयुक्त हुँदैन । यसले पनि छालामा भएको तेलको ग्रन्थीलाई थुनिदिन्छ र अनुहारको छालामा नकारात्मक असर पु¥याउँछ ।

९) हेयर कलर

कपालको कलरसँग आफ्नो आँखी भौँ कलर मिलाउन धेरैले हेयर कलर लगाउँछन् । हेयर कलरमा एलर्जी गराउने तव हुन्छ । जसले गर्दा हाम्रो आँखाको वरिपरि एलर्जी गर्छ । आँखाको वरिपरि एलर्जी भएर धेरैजना अस्पताल समेत गएका हुन्छन् । त्यसैले हेयर कलर अनुहारमा कहिल्यै लगाउनु हुँदैन ।

१०) टुथपेस्ट

डण्डीफोर हुँदा धेरैले अनुहारमा टुथपेस्ट लगाउँछन् । टुथपेस्टले डण्डीफोर सुकाउँछ भन्ने भ्रम धेरैमा छ । यसले छालामा मेलालिनको मात्रा बढाउँछ । मेलालिनले छालामा लामो समयसम्म देखिने कालो दाग बनाउँछ ।

डा.प्रकाश आचार्य ,छाला तथा यौन रोग विशेषज्ञ हुन् ।

Nabintech