ओलीमाथि प्रचण्डको कटाक्ष:‘जनयुद्धको नाम सुन्‍नै नचाहनेले अहिले कालीबहादुर खाम खोई अरे !’


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहाल नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले   पार्टी एकतापछि पनि प्रधानमन्त्री ओली जनयुद्धका सहिदहरुको सम्मान गर्ने कार्यक्रममा कहिल्यै सहभागी नभएको कुरा आफूले नोट गरेको दाहालले बताए ।

उनले भने, ‘जनयुद्ध भनेपछि एक शब्द सुन्न नचाहने हुनुहुन्थ्यो । शान्ति सम्झौता भएपछि त अलिकति सुध्रिनु भयो कि भनेको एकतापछि पनि जनयुद्धका सहिदलाई सम्मान गर्ने एउटा कार्यक्रममा जानु भएन । अरु नेताहरु जानु भयो । केपी कहिल्यै जानु भएन । मैले त्यसलाई खुब नोट गरेको छु ।’ तर, पार्टी विभाजनले आफू अल्पमतमा परेपछि जनयुद्धका घाइते अपाङ्गलाई हेर्नुपर्दैन भनेर ओलीले उल्टै आफूमाथि प्रश्न उठाएको पनि दाहालले बताए ।

‘जनयुद्धका घाइते अपाङ्गहरु माइतीघरमा अनशन बस्दा, खुमलटार गएर अनेक गरेर ऋण, सापट खोजेर मैले बेलाबेला राहत दिने । सरकारलाई पटक-पटक यी घाइते, अपांगको उपचार गर्नुपर्‍यो । यो सरकारले त खाईपाई आएको सुविधा पनि काटेछ,’ दाहालले भने, ‘जनयुद्धका घाइते अपाङ्गहरु माइतीघरमा अनशन बस्दा गृह प्रशासन पनि केपीले जे भन्यो त्यही मान्ने छ । मैले धेरै पटकभन्दा कहींकतै टेडपुच्छर लागेन । उल्टो मासिक भत्ता खोसियो । अहिले पार्टी विभाजनमा ओली अल्पमतमा परेपछि म कहिलेकाहीं सुन्छु, ती घाइते अपाङ्गलाई हेर्नु पर्दैन प्रचण्डले भन्ने तीनै केपीले ? फट्याइँ गर्न कति सकेको ? जालझेल गर्न पनि कस्तो दिमाग हो ?’

प्रचण्डले ओलीमाथि कटाक्ष गर्दै थपे–

‘कालीबहादुर खाम खोई अरे ! त्यो कालीबहादुर खाम विचरा आफैंले केही गर्‍या त होइन । उसको मुद्दा ठीक ढंगले हल होस् भन्नका लागि १०/११ वर्षदेखि म लगातार लागेको छु । उसलाई परेको गाह्रो–साह्रो हेर्न मैले लगातार बल गरेको छु । अहिले त कालीबहादुर, तपाईंलाई प्रचण्डले हेर्दैन ! जनमुक्ति सेनाका कमाण्डर हुन् उनी ।

जसलाई मैले १० वर्षसम्म स्कुलिङ गरेर, हुर्काएर, माया गरेर एउटा ठाउँमा पुर्‍याएको । ती मान्छेको चाहिँ अब केपीले संरक्षण गर्ने रे ! आमाको दूध चुसेर भएन, बाबुको घुँडो ! योभन्दा लाजमर्दो अरु हुन्छ ? प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे, केपीले !’

जनमुक्ति सेनाका सबै कमाण्डर, घाइते, योद्धा साथीहरु भ्रमित नहुनुहोला । तपाईंहरुको रगत पसिना र बलिदानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउन ऐतिहासिक भूमिका खेलेको छ । इतिहासको स्वर्णिम अक्षरमा तपाईहरुको नाम लेखिइसकेको छ । त्यसलाई कालो पोत्ने काम हामी कोही नगरौं । म यो अपील गर्न चाहन्छु ।’

 

Nabintech