निषेधाज्ञामा खटिएका प्रहरीलाई आदर्श नव युवा क्लबको सहयोग


काठमाडौं । निषेधाज्ञाका समयमा ड्युटीमा खटिएका प्रहरीलाई आर्दश नव युवा क्लव धनगढीले पानी र चाउचाउ वितरण गरेको छ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको निषेधाज्ञालाई सफल बनाउन अहोरात्र खटिएका प्रहरीलाई क्लवले उक्त अत्याआवश्यक सामाग्री वितरण गरेको हो।

मंगलबार धनगढी उपमहानगरपालिका स्थित जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा क्लवका अध्यक्ष निराजन खड्का लगायत क्लवका अन्य सदस्यको टोलिले जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टलाई २५ पेटि पानी र ४ पेटि चाउचाउ हस्तान्तरण गर्नुभएको हो ।

संकटकाबीचमा खटिएका प्रहरीको हौसलाका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको क्लवका अध्यक्ष निराजन खड्काले बताउनुभयो । ‘कोरोना भाइरसको जोखिमबाट बच्न लागु गरिएको निषेधाज्ञा सफल बनाउन प्रहरीहरु अहोरात्र खटिरहेका छन्, यो बेला जुनसुकै ठाउँमा जहाँ पायो त्यहीको पानी खाने अवस्था छैन, जस्तो पायो त्यस्तै खानेकुरा खाने अवस्था छैन,’ अध्यक्ष खड्काले भन्नुभयो, ‘लकडाउनले बजार बन्द छ, तिर्खा लाग्दा एक घुड्की पानी पिउने वातावरण छैन। पानीकै लागि ढोका ढकढकाउने अवस्था छैन। त्यही भएर कम्तीमा ड्युटीमा खटिएको बेला सहजताका साथ पानी पिउन पाऊन् भनेर सहयोग गरेका हौं।’

महामारीविरुद्ध लडिरहेका प्रहरीलाई क्लवको सहयोगले काममा लागिरहन प्रेरणा मिलेको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताउनुभयो । प्राप्त सामग्री ड्युटीमा खटिएका प्रहरीलाई प्रदान गरिने विष्टको भनाइ छ ।

Nabintech