• १४ बैशाख २०८१, शुक्रबार
प्रहरीको हिरासतमा रहेका युवाको शंकास्पद मृत्युप्रति छानविन गर्न नेविसंघको माग


काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले रौतहट र मोरङमा राज्यको नियन्त्रणमा रहेका २ युवाको शंकास्पद ढंगले भएको मृत्युप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले एक विज्ञप्ती जारी गर्नुहुँदै रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केही दिनदेखि हिरासतमा रहेका १९ वर्षिय स्वस्थ युवक विजय महराको अकस्मात विरगञ्जको एक अस्पतालमा भएको निधनप्रति संगठनको गम्भीर ध्या आकर्षण भएको बताउनु भएको छ ।

अत्यन्त अप्रत्यासित र अस्वभाविक रुपमा रहस्यमय ढंगले भएको महराको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकार समक्ष नेविसंघले माग गरेको छ । त्यस्तै, नेविसंघले मोरङको जिल्ला कारागारमा रहेका २६ वर्षीय युवा निराजन यादवको शुक्रबार अपरान्ह कोशी अस्पताल पुर्याएलगत्तै भएको शंकास्पद मृत्युबारे पनि सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा जेठ २७ गते मृत्यु भएको र रौतहटको माधवनारायण नगरपालिकाको एक मन्दिरका पूजारी राम साहको हत्या भएको केही समय लगत्तै उस्तै प्रकृतिका घटना दोहोरिनु अत्यन्तै दुःखद भएको नेविसंघद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

एकपछि अर्को उस्तै प्रकृतिका घटना दोहोरिँदै जाँदा नेपाल प्रहरीको छविमा पर्नसक्ने असरलाई ख्याल गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्न र तत्काल आवश्यक कारबाही गर्न नेविसंघले माग गरेको छ ।

Nabintech