• १५ चैत्र २०८०, बिहीबार
सर ! मलाई पास हुनैपर्छ नभन्नू है


सर ! मलाई पास हुनैपर्छ भनि जबर्जस्ती नगर्नू है
किनकि मेरो साथी पास भएपछि बिदेसिएको छ
गाउँका विकृति छुटाउन नपाउँदै छुटिन्छ
सानो छँदा आमाले काखमा लेखाएको गुन तिर्न नपाउँदै
रोजगारीको लागि भौतारिन्छ ।

सर प्लिज मलाई पास हुनैपर्छ नभन्नू है
किनकि बालापनको दोस्ती अझै मजबुत बनेको छैन
सुख, दुःख अझै साट्न पुगेको छैन
होमवर्क मिलेर बनाए झैँ जिन्दगी मिलाएको छैन ।

सर मलाई पास हुनैपर्छ नभन्नू है
किनकि उसलाई पछ्याउँदै म अगाडि हिँड्न पाउँदिन
गीत गाउँदै अरुको खिसिट्याउ उडाउन मिल्दैन
ऊ बस्ने ठाँउ मलाई बस्न मन लाग्दैन ।

सर प्लिज मलाई पास हुनैपर्छ नभन्नू है
किनकि म कक्षाको अङ्कमा फेल भए पनि जिन्दगीमा पास हुनेछु
नतिजामा फेल भए पनि समाजमा पास हुनेछु
म जस्तै हाम्रा सपना सिउनमा पास हुनेछु ।

प्लिज सर मेरो साथी र मलाई नछुटाइदिनू
हामी पास भए त बिदेसिन्छौँ
त्यसैले त सर
मलाई पास हुनैपर्छ नभन्नू है ।

Nabintech