प्रचण्ड-माधव समूहद्वारा आन्दोलनको घोषणा,१४ गते देशभर प्रदर्शन गर्ने


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा आन्दोलनमा उत्रिने निर्णय गरेको हो। देशव्यापी प्रदर्शन भने १४ गते हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार काठमाडौंमा मुख्य प्रदर्शन हुनेछ । यसका लागि बाग्मती प्रदेशका भने सबै जिल्लालाई राजधानीमा नै केन्द्रीत गरिनेछ ।

आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ । यसको सचिवालय पनि बनाइनेछ ।
बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।

११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बबन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ । २० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म वडास्तरमा बैठक एवं भेला गर्ने बैठकको निर्णय छ।

Nabintech