• १६ चैत्र २०८०, शुक्रबार
प्रधानमन्त्री ओलीले घोषणा गरेको दुई बर्ष नपुग्दै जाडोले कठ्यांग्रिएर ६ जनाको ज्यान गयो

प्रदेश दुईमा ५ जना र सुदुरपश्चिमा १ को मृत्यु, आगो ताप्ने क्रममा १४ जना गम्भीर घाइते



काठमाडौं । पछिल्लो डेढ सातामा मात्रै प्रदेश नम्वर २ को सिराहामा चिसोले कठ्यांग्रिएर चार जनाको मृत्यु भएको छ ।
भने चिसोबाट जोगिन घुर ताप्ने क्रममा पनि पाँचजना गम्भीर घाइते भएका छन् । चिसो बढ्ने क्रम बल्ल सुरु भएकाले यस वर्षको मानवीय क्षति अझ धेरै हुने अनुमान गरिएको छ ।

मृत्यु हुनेमा बरियारपट्टी गाउँपालिका– ५ जिझौलका २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका– ११ गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका– ३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र वडा नम्बर १ का नाम खुल्न नसकेका ५० वर्षीय पुरुष रहेका छन् ।

सिराहाको भगवानपुर गाउँपालिका– १ देवनाथका उदयकुमार यादव, कविताकुमारी यादव, सिर्जनाकुमारी यादव र अनुष्का यादव तथा सुखीपुर नगरपालिका– ५ की पिंकी मण्डल घुर ताप्ने क्रममा आगोबाट जलेर घाइते भएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ ।

त्यस्तै, बाजुरा सदरमुकाम मार्तडीमा पनि चिसोले कठ्यांग्रिएर ३७ वर्षीय लालबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरको भुइँतलामा सुतेका विक मृत अवस्थामा फेला परेका थिए । चिसोका कारण उनको मृत्यु भएको इन्स्पेक्टर बलेन्द्र नाथले जानकारर दिनुभयो

दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले २६ पुस ०७५ (९७औँ पृथ्वीजयन्ती ) को अवसर पारेर भन्नुभएको थियो, ‘अब एउटा कम्बल ओढ्न नपाएर तपाईंमा शीतलहरका कारण तड्पिएर कोही नागरिक पनि मर्दैन, सरकार छ यहाँ ।’

एक वर्षपछि ३ फागुन ०७६ मा त प्रधानमन्त्री ओलीले एक कदम अगाडि बढेर संघिय संसदमा पछिल्ला दुई वर्षमा कोही नागरिक जाडोले कठ्यांग्रिएर मर्नु नपरेको दाबी नै गर्नुभएको थियो । सरकारका उपलब्धि बताउने क्रममा उहाँले तराईमा जाडो तथा शीतलहरका कारण कोही पनि मृत्युको मुखमा नपुगेको जिकिर गर्नुभएको थियो । ‘शीतलहरले बर्सेनि दजर्नौँ मानिस मर्थे, तर दुई वर्षमा जाडो र शीतलहरबाट कोही मरेका छैनन् । यो अनुभूति हो,’उहाँको भनाइ थियो ।

जब कि ११ पुस ०७६ मा धनुषाको जनकपुरधाम उपमहानगरपालिका– २३ घर भएकी ४८ वर्षीया अनितादेवी कापडको चिसोका कारण मृत्यु भइसकेको थियो । त्यस्तै, आगो ताप्ने क्रममा नौजना गम्भीर घाइते भएका थिए । त्यसयता पनि नागरिकले चिसोले ज्यान गुमाउने क्रम रोकिएको छैन ।

Nabintech