कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा टेलिभिजन कार्यक्रम ऐना लिएर आउँदै


काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टेलिभिजन कार्यक्रम ऐना सञ्चालन गर्ने हुनुभएको छ ।

द होराइजन मल्टिमिडियाले निर्माण गर्ने सामाजिक विषयवस्तुमाथिको टेलिभिजन कार्यक्रमको प्रस्तोता शर्मा बन्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। माघ ७ गतेदेखि कार्यक्रम कान्तिपुर टेलिभिजनमा प्रसारणमा आउने भएको हो।
एक घण्टाको कार्यक्रम २६ अंकसम्म संचालन हुने निर्माताले जानकारी दिएको छ।

कार्यक्रम ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धितालले राजनीतिक व्यक्तित्वलाई सामाजिक र मानवीय मुद्दामा जोड्नुका साथै समाजका विविध घटनासँग प्रत्यक्ष साक्षात्कार गराउन विश्वप्रकाश शर्मालाई कार्यक्रम प्रस्तोताका रुपमा राखिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रस्तोता शर्माले समाजका विविध घटनाको गहिराइमा पुगेर मानवीय संवेदनालाई छुने गरी तयार भइरहेको कार्यक्रम ऐनाको हिस्सा बन्न पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो ।

कार्यक्रम ऐनाको मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गरेको छ भने सहप्रायोजनमा चौधरी फाउन्डेसन र आइएनजी ग्रुप छन्। पत्रकार सम्मेलनमा ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ महेशप्रसाद ढकालले कार्यक्रम ऐनाको मुख्य प्रायोजक हुन पाउँदा खुसी लागेको बताउनुभयो ।

देशका विभिन्न स्थानमा घटनास्थलमै पुगी र पीडित वा सरोकारवालाहरुलाई भेटेर तथा स्टुडियोमा छलफल गरेर यिनै प्रश्नको जवाफ खोज्ने काम कार्यक्रम ‘ऐना’ले गर्ने बताइएको छ ।
कार्यक्रम ऐनाको निर्देशन अमनप्रताप अधिकारीले गर्नुहुनेछ । कार्यक्रमको प्रोड्युसर जनक पौडेल हुनुहुन्छ भने अनुसन्धान प्रमुख प्रकाश लामिछाने र स्क्रिप्ट राइटर आन्विका गिरि हुनुहुन्छ । यस्तै, कार्यक्रमको अनुसन्धान टिममा भानु बोखिम, महावीर विश्वकर्मा, मनिका खतिवडा र लक्ष्मी नेपाल हुनुहुन्छ ।

बिहीबार कार्यक्रमको शीर्ष गीतसमेत सार्वजनिक भयो। कवि श्रवण मुकारुङले रचना गरेको शीर्ष गीतमा सुगम पोखरेलको स्वर र मोहित मुनालको संगीत छ।

Nabintech