तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले किन प्रकाउ गर्यो ? (भिडियोसहित)


काठमाडौं । पुल उद्घाटनका लागि गृहजिल्ला तनहुँ पुग्नुभएका कांग्रेस नेता रामचन्द्र पौडेलसहितका नेतालाई प्रहरीले प्रकाउ गरेको छ ।

पुल उद्घाटनका लागि तनहुँ पुग्नुभएका नेता पौडेललाई करिव ३ घन्टा हिरासतमा राखेर रिहा परेको हो । वरिष्ठ नेता पौडेलसँगै कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको थियो ।

एक पुलको उद्घाटन गर्न जाने क्रममा तालघारी भन्ने स्थानबाट पौडेलसहितका नेतालाई प्रकाउ गरेर सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ । नेकपाका कार्यकर्ताले उहाँलाई अवरोध गर्न सक्ने भएकाले प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । अहिले पनि नेता पौडेलसहितका नेतालाई प्रहरीले नियन्त्रणमै राखेको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । पौडेललाई प्रहरीले जबर्जस्ती नियन्त्रणमा लिइएको थियो । पौडेलले फेसबुक स्टाटस लेखेर आफूलाई प्रहरीले हिरासतमा लिएको दिनुभएको थियो ।

के हो त खास विवाद ?

तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर उद्घाटन गर्नकालागि निमन्त्रणागरेका थिए । तर नेकपाका कार्यकर्ताले विरोध जनाएपछि झडप हुनसक्ने भन्दै तनहुँमा जिल्ला प्रशासन कार्यालयले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी सागर न्यौपाले निषेधाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन र नाराबाजी गरेको भन्दै निषेधाज्ञा जारी गरेको जानकारी दिनुभएको थियो ।

व्यास नगरपालिकामा मोटरेबल पूल निर्माण भएको र त्यसको उद्घाटन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने भनेपछि विवाद सुरु भएको थियो । नेकपाले कांग्रेसका नेतालाई पुल उद्घाटन गर्न नदिने भन्दै प्रदर्शन गर्‍यो । नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले कांग्रेसले जबर्जस्ती गर्न खोजेको भन्दै विरोध प्रदर्शन गरिएको बताउनुभएको थियो । नेकपाको प्रदर्शनपछि प्रशासनले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “तनहुँ जिल्लामा नेपाली कांग्रेस समेतको सहभागितामा २०७७ मंसिर १७ गते व्यास नपा वडा नं। १ र १०, ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन गर्न लागेकोमा पूर्वाधार विकास कार्यालय तनहुँको च.न.१६७ मिति २०७७ मंसिर १८ को पत्रबाट उक्त उद्घाटन कार्यक्रम स्थगन गरिदिन अनुरोध भएको छ ।”

यता, कांग्रेसले भने पूर्व निर्धारित कार्यक्रम नरोकिने जनाएको थियो ।सोही अनुसार पौडेल पूल उद्घाटनका लागि जाँदै हुनुहुन्थ्यो । वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय प्रशासनले फट्याईँ गरेको आरोप लगाउनुभएको छ ।

नियन्त्रणमा लिनुअघि आफू पुल उद्घाटन कार्यक्रमस्थलतर्फ हिँडेको र आफूले कुनै झुटमुठको विज्ञप्ति नमान्ने बताउनुभएको थियो ।
पौडेलले भन्नुभयो,“स्थगित गर्ने र नगर्ने कुनै कारण र औचित्य नै छैन । यो पञ्चायतको मण्डलेतन्त्र फेरि फर्केर आएको देखिन्छ ।झुटमुठको विज्ञप्ति मान्दिन  ।

Nabintech