• १५ चैत्र २०८०, बिहीबार
१७ वर्षीया अमृतालाई किन आफ्नै बुवाआमाले पैसा दिएर गोली हान्न लगाए ?( कारण पढ्नुहोस)


काठमाडौं । रौतहटकी १७ वर्षीया अमृताकुमारी साहको हत्यामा संलग्न ७ जना पक्राउ परेका छन्।

उनको हत्या भएको झन्डै तीन सातापछि जिल्ला प्रहरी कार्यालय रौतहटले हत्यामा संलग्न ७ जनालाई आइतबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो। हत्याका मुख्य अभियुक्त आइतबारमात्रै पक्राउ परेका हुन्।

माधवनारायण नगरपालिका ७ लौकाहाकी अमृताको कात्तिक २६ गते हत्या भएको थियो। राति साढे ११ बजेतिर सुतिरहेका बेला उनको कन्चटमा गोली हानिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीको अनुसन्धानले अमृताका बुवाआमाले नै छोरीमाथि गोली हान्न लगाएको खुलेको छ। अमृताका बुवा ५५ वर्षीय रामअयोध्या साह र आमा सीतादेवी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ।

रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहका अनुसार अमृताको आमाबुवाले इज्जत जाने डरले नै छोरीको हत्या गर्न लगाएको बयान दिएका छन्।

अमृता सोही ठाँउका ३० वर्षीय थारू भन्ने सोशिन्द्रप्रसाद भगतसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा थिइन्।

परिवारको दबाबमा गत फागुनमा अमृताको विवाह सर्लाही विष्णु गाउँपालिका-३ का रुपेश साहसँग भयो।

विवाहपछि सोशिन्द्रप्रसादले रुपेशमाथि छुरा प्रहार गरेका थिए। श्रीमानलाई छुरा हानिएको घटनापछि अमृता माइती आएकी थिइन्।

अमृता र रुपेशबीच गत असारमा सम्बन्धविच्छेद भएको प्रहरी उपरीक्षक शाहले बताए।

सम्बन्धबिच्छेद पछि रुपेशका परिवारले अमृतार उनका प्रेमी सोशिन्द्रप्रसाद भगतमाथि ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरेका थिए।

अमृता र सोशिन्द्रबिचको प्रेम सम्बन्ध उनका आमा बुवालाई पनि स्वीकार्य थिएन।

प्रहरीका अनुसार रुपेशको परिवारले हालेको मुद्दामा छोरी पक्राउ परे आफूहरूको इज्जत जाने डर थियो।

अमृता आफ्ना प्रेमी सोशिन्द्रसँग भागेर जाने डर, प्रेमका कारण भएको सम्बन्धविच्छेद, माइतीमा बस्न आउने कुरालगायतले परिवारलाई हैरानी भएको थियो।

आमाबुवाले त्यस्ता कुरा निस्किँदा आफूहरू अपहेलित हुनु परेको महसुश गर्थे।

त्यही कारणले बुबा रामअयोध्या साह र मृतकका भिनाजु लक्ष्मण साहले छोटेलाल साहलाई अमृताको हत्या गर्न एक लाख ५० हजार रुपैयाँ दिएका थिए।

उनीहरूले कात्तिक ९ गते महानवमीका दिन बिहान हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट देखिएको छ।

‘दसैंको महानवमीमा अमृतालाई उपचारको बहानामा लिएर भारतमा मार्ने योजना बनाएका थिए तर उनी त्यहाँबाट भाग्न सफल भइन्,’ प्रहरी उपरीक्षक शाहले भने।

अमृता भागेर आएपछि उनीहरूले अमृताको हत्या गर्न पुनस् योजना बनाए।

त्यसपछि उनीहरूले गोनाही नगरपालिका-२ लक्ष्मिनीया कुरुनीयाका कैमुल देवानलाई छोरीको हत्या गर्न एक लाख रुपैयाँ दिएका थिए। प्रहरीका अनुसार उनले नै गोली प्रहार गरेका थिए।

अमृतामाथि गोली हान्ने देवान आइतबार पक्राउ परेका छन्।

घटनामा संलग्न परोहा नगरपालिका-४का ४६ वर्षीय छोटेलाल साह, गोनाही नगरपालिका-२ लक्ष्मिनिया करुनियाका ६० वर्षीय शेख अलियास, अन्दाजी ३५का बहुदल भन्ने ईस्लाम अंसारी र ३६ वर्षीय शेख इम्ताजलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत रौतहटबाट आइतबार ७ दिन म्याद थप गरेको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरुले अपराध स्वीकारसमेत गरिसकेका छन्।

Nabintech