कोरोना संक्रमित १ लाख नाघेपछि जनस्वास्थ्यविज्ञ डा.पाण्डेको यस्तो छ कोरोनाबाट बच्ने सुझाव


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रवारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको जानकारी दिनुभयो ।

त्यस्तै हालसम्म कोरोना संक्रमणको कारण नेपालमा ६ सय जनाको मृत्यु भइसकेको छ । चाडपर्व नजिकिदै गर्दा मानिसहरु गाउँ फर्किन थालेका छन् । कोरोनाको हटस्पट बनेको राजधानी काठमाडौंबाट मानिसहरु गाउँगाउँ जाँदा कोरोना संक्रमणको जोखिम बढ्ने देखिन्छ ।

जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले समुदायस्तरमा कोरोना संक्रमण फैलिइसकेको बताउँदै सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

डा. पाण्डेको सामाजिक सञ्जालबाट जस्ताको तस्तै

१. जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले बिशेष अभियान संचालन गरोस् | स्वास्थ्य मन्त्रालयले परिक्षण ब्यापक गर्ने, हरेक अस्पताललाई चुस्त राख्ने, आबश्यकता अनुसार ठूला अस्पताल तथा मेडिकल कलेजलाई कोरोना डेडिकेटेड अस्पताल बनाउने काम गरोस् |
२. सेनालाई १ हजार बेडको कोभिड डेडिकेटेड अस्पताल ( प्रिफ्याबको, अस्थायी ) तथा १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन सरकारले स्थान, साधन, स्रोत र छोंटो समय प्रदान गरोस् |
३. महानगरले ५ हजार बेडको आइसोलेसन केन्द्र बनाउने भनेको थियो, त्यो कार्यान्वयन होस् |
४. हामी आम नागरिक सम्भव भएसम्म घरबाहिर निस्किने नगरौं ! सामान्य Exposure ले पनि धेरै व्यक्ति संक्रमित भएका छन्, अस्पताल भरिभराउ छन् |
५. घरबाहिर निस्किन अनिबार्य भएमा सहि तरिकाले मास्क लगाऔं, जसरी सम्भव हुन्छ, व्यक्तिगत दुरी कायम गरौँ, भीडमा जाने दुस्साहस नगरौं |
६. जसरी ज्यान जोगाउन तालचरा साइबेरियादेखि नेपाल आउँछन्, प्रतिकुल समयमा सर्पलगायत सरिसृप दुलोभित्र बस्छन्, जंगली जनावर कहिले यो देशमा त कहिले त्यो देशमा नेपालमा बसाइ सर्छन् .. त्यसै गरेर महामारीबाट बच्न सुरक्षित ठाउँमा बसौं | यो सम्पूर्ण प्राणिको प्राकृतिक तथा नैसर्गिक स्वभाव हो |
७. ९० % संक्रमितलाई सामान्य लक्षण देखिएर वा सामान्य उपचारले निको हुन्छ | बाँकि ५ % लाई अप्ठ्यारो गरि निको हुन्छ | बाँकी ५ % लाई आइसीयुको सेवा आबश्यक हुन्छ | कोरोनाले कसलाई कसरी आक्रमण गर्छ भन्ने कुरा थाहा हुँदैन | त्यो ५ % मा हामी जो कोहि पनि पर्न सक्छौं | तसर्थ १०० % साबधानी अबलम्बन गरौँ | कोभिडलाई सामान्य नठानौं | नेगेटिभ रिपोर्ट आउनु मात्र स्वस्थ हुनु हैन | लंग कोभिड वा पोस्ट कोभिड सिन्ड्रोमका दीर्घकालीन असर देखिएका छन् |
८. आधिकारिक सूचना र सल्लाह मात्र अनुसरण गरौँ | भाइरसको स्वरूप र शक्ति परिवर्तनशील हुने तथा त्यहि परिवर्तन अनुसार बैज्ञानिक वा विज्ञको सल्लाह पनि समयानुकुल हुने भएकोले एकपटक भनेको कुरा अर्को पटकको लागि पनि कम उपयोगी हुन सक्छ | तसर्थ अपडेट हुने बानी बसालौं |
९. राजनैतिक पार्टी, सामाजिक संस्था, क्लब, नागरिक समाज, शिक्षक, पत्रकार, स्वास्थ्यकर्मीलगायत सबै पेशा र संस्थाले जनचेतनाको लागि नागरिक परिचालन गरौँ |
१०. महामारीको समयमा सकारात्मक सोंच, सहयोगी ब्यबहार तथा आशाबादी गुण नै ठूलो अस्त्र हो | तसर्थ आरोप प्रत्यारोप गर्नुभन्दा आफ्नो ठाउँबाट के सकिन्छ, कसरी सकिन्छ, योगदान गरौँ | सरकार र नागरिक जिम्मेवार तथा अनुशाशित बनौं | यहि एकताले नै हामीले कोरोना महामारीलाई परास्त गर्न सक्छौं |

Nabintech