रुपन्देहीमा नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग घोषणा


ताजा समाचार

काठमाडौं । प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई हजार बढी कार्यकर्ताले पार्टी परित्यागको घोषण गरेका छन् ।

विभिन्न उद्योग व्यवसायमा आबद्ध नेकपा कार्यकर्ताले बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन्।

पार्टीबाट राजीनामा दिएको घोषणा गर्नेमा पार्टीको केन्द्रीय विभागका सदस्यहरु समेत रहेको बताइएको छ।बुटवल र आसपासको क्षेत्रमा रहेका ३५ वटा व्यावसायीक संघसंस्थामा नेकपाका करिब २३ सय हाराहारी क्रियाशील पार्टी सदस्य छन्।

उनीहरुले पत्रकार सम्मेलनमार्फत् सामूहिक राजीनामा दिएको जानकारी गराएका हुन्। रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले पार्टीका सयौं कार्यकर्ता र आम सर्वसाधारणको जनभावनाविपरीत राजधानी सार्न लागिएकाले आफूहरुले सामूहिक राजीनामा दिएको जानकारी दिए।

पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टी नेतृत्वले निरंकुश शैली अपनायो। यस क्षेत्रका कयौं नागरिकको जनभावना बुझेन। आफूखुशी राजधानी सार्न प्रदेश सरकारलाई निर्देशन दियो। अब हामी कसरी पार्टीमा बसिरहन सक्छौं ? ’

बोहराले यस क्षेत्रका सांसदहरुको मत राख्ने अधिकार समेत पार्टीले ह्वीप लगाएर बञ्चित गरेको आरोप लगाए। यस्तो गरिरहँदा पार्टीमा बस्नुपर्ने कुनै औचित्य नरहेको उहाँले बताउनुभयो ।

व्यवसायीहरुले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका छन्।
होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पुर्याउन र बलियो बनाउन व्यवसायीहरुको ठूलो भूमिका रहे पनि त्यसको अवमूल्यन गरेको जनाउँदै पार्टीबाट राजीनामा दिएको बताउनुभयो ।

नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काँध चढेर चुनाव जितेका पार्टीका नेताहरुसँगै बस्नुको कुनै औचित्य नभएको बताउनुभयो ।

उहाँले नागरिकको मर्म र पार्टी कार्यकर्ताको भावना नबुझ्नु पार्टीको ठूलो भुल भएको जिकिर गरे। उनले रुपन्देहीमा पार्टीलाई बचाइ राख्ने हो भने संसदमा पेस भएको राजधानीसम्बन्धी प्रस्ताव फिर्ता लिन माग गर्नुभयो ।

रुपन्देहीका नेकपासम्बद्ध उद्योगी व्यवसायीले प्रदेशको अस्थायी राजधानी तोकिएपछि प्रदेश सरकार र संसद सचिवालयलाई ठूलो सहयोग गरेका छन्। बुटवल उद्योग बाणिज्य संघले त आफ्नो भवन नै प्रदेश सभालाई प्रयोग गर्न दिएको छ।

संसदमा प्रस्ताव दर्ता भएदेखि नै विरोधमा उत्रिएका नेकपा सम्बद्ध व्यवसायीले दिएको राजीनामाका कारण रुपन्देही नेकपामा ठूलो धक्का लागेको छ।

Nabintech