• १५ चैत्र २०८०, बिहीबार
लकडाउनका कारण रोकिएको जनकपुर-जयनगर चल्ने दुईसेट रेल शुक्रबार जनकपुर आइपुग्ने


काठमाडौं । बहुप्रतिक्षित जनकपुर-जयनगर चल्ने दुईसेट रेल शुक्रबार जनकपुर आइपुग्ने भएको छ।

झण्डै ६ महिना अघि नै भारतमा निर्माण भएको दुईसेट रेल बिहारको पटनामा राखिएको थियो। शुक्रबार  हस्तान्तरण गर्नको लागि रेल जनकपुर आउन लागेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो ।

जनकपुरदेखि बर्दिबासम्म रेल सञ्चालनको निम्ति रेल विभागले भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडसँग रेल किन्ने सम्झौता गरेको थियो। सोही अनुसार भारतको मद्रासस्थित कोकण रेलवेज कर्पोरेसन कम्पनीले निर्माण गरेको दुईसेट रेल रंगरोगन गरी ल्याएर बिहारको पटना नजिकै सुरक्षितसाथ राखिएको थियो।

कोकण रेलवेज कर्पोरेसन कम्पनीसँग उक्त दुईसेट रेल भ्याटसहित झण्डै १ अर्बमा नेपाल सरकारले खरिद गरेको छ। लकडाउनको कारण ल्याउन नसकेर पटनामा सुरक्षित साथ राखिएको दुईवटा रेलसेट शुक्रबार दिउँसोसम्म जनकपुर आइपुग्ने छ। रेल हस्तान्तरणपछि पुनः दुईवटै रेललाई जयनगर लगेर सुरक्षित साथ राखिने छ।

पहिलो चरणमा भारतको कुर्थादेखि जनकपुरसम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ। दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको विभागले जनाएको छ।

Nabintech