• ११ बैशाख २०८१, मंगलवार
चर्को विरोधपछि अव निजी अस्पतालमा कोरोना परीक्षण गरेकाले पनि बिमा दाबी गर्न पाइने


काठमाडौं। निजी अस्पतालमा कोरोना परीक्षण गरेकाले पनि रिपोर्टका आधारमा पनि कोरोना बिमाको दाबी पाइने भएको छ।

निजी अस्पतालमा गरिएको कोरोना परीक्षणको रिपोर्टका आधारमा दाबी नपाउने व्यवस्थालाई परिवर्तन गरिएको बिमा समितिले जनाएको छ।

कोरोना बिमा मापदण्ड २०७७ लाई संसोधन गर्दै यस्तो व्यवस्था गरिएको हो। कोरोना बिमाको दाबी भुक्तानीका लागि निजी संस्थाहरुले गरेका परीक्षणलाई मान्यता नदिने निर्णयको चर्को विरोध भएको थियो।

बिमा समितिले कोरोना बिमा मापदण्ड, २०७७ को परिच्छेद ९३० को दाबी भुक्तानी शीर्षकको दफा ११ लाई संसोधन गरेको छ। संसोधन गर्दै समितिले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरुबाट पिसीआर परीक्षण गर्दा कोभिड–१९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट पेश गर्नुपर्नेछ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न स्वीकृत प्राप्त अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीहरुको बिमा दाबीका लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पताल वा प्रयोगशालामा बाहेक अन्य स्वीकृत प्राप्त अस्पताल वा प्रयोगशालाबाट पिसीआर परीक्षण गराउनु पर्ने भएको छ।

कोरोना बिमालेख बापतको दाबी भुक्तानीका लागि लघुबिमा पुल व्यवस्थापनका लागि तोकिएको बिमकमार्फत् एकै स्थानबाट भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने भएको छ।
बिमकलाई दाबी भुक्तानी शंका वा द्विविधा उत्पन्न भएमा बिमकको आफ्नै खर्चमा स्वीकृत प्राप्त अन्य अस्पताल वा प्रयोगशाला पिसीआर परीक्षण गराउन सक्नेछ।

कोरोना बिमा दाबी भुक्तानी प्रकृयामा द्विविधा उत्पन्न भएमा भुक्तानी प्रकृयालाई भरपर्दो एवं विश्वासिलो बनाउन बिमा समितिले कोरोना बिमा दाबी व्यवस्थापन उपसमिति गठन गरिने भएको छ। उक्त उपसमितिको सिफारिसमा कम्पनीहरुले कोरोना बिमा मापदण्डबमोजिम हुने गरी भुक्तानी गर्नुपर्नेछ।

उक्त उपसमितिको संयोजक बिमा समितिका निर्देशक रहनेछन्। त्यस्तै सदस्यहरुमा नेपाल सरकार अर्थ मन्त्रालयका प्रतिनिधि, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, -नेपाल बिमक संघका प्रतिनिधि हुने छन्।

कोभिड –१९ संक्रमणबाट पिसीआर पोजिटिभ भई घर वा होटल (आइसोलेसन) मा बसेकाहरुको हकमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखका साथै स्थानीय निकायको सिफारिससमेत पेश गर्नुपर्नेछ। तर अस्पतालमै भर्ना भई उपचारत व्यक्तिको हकमा भने अस्पतालबाट जारी गरिएको भर्ना तथा डिस्चार्ज भौचर पेश गर्नुपर्नेछ।

Nabintech