• २१ बैशाख २०८१, शुक्रबार
धवलशमशेरले छाडेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा कसले बाजी मार्ला ?


काठमाडौं । पश्चिम नेपालको प्रमुख शहर हो बाँकेको नेपालगञ्ज । बढ्दो गर्मीसँगै चुनावी सरगर्मीले झनै तातेको छ नेपालगञ्ज उपमहानगरपालिका ।

तीन ठूला दलका उम्मेदवारलाई पछि पारेर ५ वर्षअघि मेयर बनेका डा. धवलशमशेर राणा पुनः नदोहोरिने बताएपछि नेपालगञ्जको चुनाव अझै पेचिलो र रोचक हुने देखिएको छ ।

मिश्रित समुदायको बसोबास रहेको नेपालगञ्जमा लोकप्रिय व्यक्ति उम्मेदवार बनाउनुपर्ने सबै राजनीतिक दललाई चुनौती छ । २३ वटा वडा रहेको नेपालगञ्जमा ८१ हजार ७०० मतदाता छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री राणाको प्रभाव राम्रो रहेको नगरमा उनी ‘साइड’ लागेपछि अब नेपाली कांग्रेस र नेकपा (एमाले) बीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । किनभने बाँकेमा राप्रपा बलियो छैन । आफ्नो व्यक्तिगत प्रभाव बढी भएकाले उनले मेयरमा जित हात पारेका हुन् । अहिले भने राप्रपाबाट मेयरको दाबेदारीको चर्चा सुनिएको छैन ।

२०५४ मा एमालेबाट मेयर जितेका राणा २०७४ मा फेरि राप्रपाबाट चुनाव जिते । राप्रपा महामन्त्री राणा अब आफू संघीय चुनाव लड्ने बताएका छन् । २०५४ मा राणालाई भित्र्याएर एमालेले उम्मेदवार बनाएको थियो ।

अहिले पनि एमालेले कांग्रेस, तमलोपा हुँदै हृदयेश त्रिपाठी समूहमा पुगेका पशुपतिदयाल मिश्रलाई पार्टी प्रवेश गराएर उनैलाई अगाडि सार्दैछ ।

मिश्रलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गएको मंसिरमा एमाले प्रवेश गराएका थिए । राप्रपाको राणाको जस्तै मिश्रको पनि नेपालगञ्जमा व्यक्तिगत प्रभाव राम्रो छ ।उनले आफूलाई पार्टीले टिकट दिने दाबीसमेत गरेका छन् । एमालेबाट टिकट पाउने पक्कापक्की जस्तै भएका मिश्र यसअघि पनि सूर्य चिह्नबाट संघीय सांसदका उम्मेदवार बनेका थिए ।

सत्तारूढ गठबन्धन भए पनि नेपालगञ्जमा तालमेल हुन भने मुस्किल देखिन्छ । जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सभा सदस्य मोहम्मद ईस्त्याक राई निर्वाचित भएको क्षेत्र नेपालगञ्ज भएकाले पनि जसपाले आफ्नो हिस्सा खोज्ने सम्भावना छ ।

त्यस्तै सत्तारुढले गठबन्धन गरे एमालेलाई स्थानीय तहमा राप्रपाले सघाउने र संघीय निर्वाचनमा राप्रपालाई एमालेले सघाउने गरी पनि छलफलका प्रयासहरू भइरहेका छन् ।

यही विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री एवं मेयर राणाबीच भेटवार्ता भएको छ ।

कांग्रेसको कुरा गर्ने हो भने नगर प्रमुखमा मुख्य दाबेदार वर्तमान उपप्रमुख उमा थापा मगर छिन् । त्यस्तै पार्टीका नगर सभापति प्रशान्त विष्ट र डा. सुरेशकुमार कानोडियाले पनि मेयरका लागि मुख्य दाबेदारी प्रस्तुत गरेका छन् । कानोडिया यसअघि मेयरमा पराजित भएका थिए ।

उपप्रमुख थापाले पाँच वर्ष नगरमा धेरै विकाससँगै अनुभव पनि सँगालेकाले अब आफूलाई पार्टीले अगाडि सार्नुपर्ने बताउँछिन् ।

सांगठनिक रुपमा नेपालगञ्जमा कांग्रेस बलियो छ । तत्कालीन पार्टी सभापति एवं प्रधानमन्त्री स्व. सुशील कोइरालाको गृहनगर पनि हो नेपालगञ्ज ।

२०७४ को चुनावमा मेयर राणाले १२ हजार ५१५ मत ल्याएका थिए भने, कानोडियाको ८ हजार ७३० ल्याएका थिए । उपप्रमुख मगर १० हजार ७३३ मतका साथ विजयी भएकी थिइन् । थापाकी प्रतिस्पर्धी राप्रपाकै रमारानी वैश्यको ८ हजार ९२४ मत थियो ।

गत निर्वाचनमा एमाले मेयरका उम्मेदवार शमशुद्दिन सिद्दिकी अहिले नेकपा एकीकृत समाजवादीमा छन् । त्यसैले मिश्रलाई नै एमालेले अगाडि सार्ने देखिन्छ । २०४९ मा नेपालगञ्जमा कांग्रेसका विजयकुमार गुप्ता मेयर बनेका थिए ।

नेपालगञ्जका २३ वडामध्ये कांग्रेस ८, एमालेले ६, राप्रपाले ३, जसपाले ३ र माओवादी केन्द्रले ३ वटामा जित हासिल गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) बाट मेयरमा तीन जनाले दाबेदारी प्रस्तुत गरेका छन् । नन्दलाल वैश्य, नवीन शर्मा र आदेश अग्रवालको नाम चर्चामा छ ।

पार्टीका चर्चित नेता नवीन, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वैश्य र संघसम्बद्ध नेता अग्रवालको मेयरमा दाबेदारी छ । नेपालगञ्जमा माओवादी केन्द्र पनि बलियो नै मानिन्छ । वैश्य यसपटक माओवादी केन्द्रले आफूलाई अगाडि सार्नुपर्ने बताउँछन् ।

जसपाले जिल्ला अध्यक्ष कमरुद्दिन राईलाई मेयरमा अगाडि सार्ने तयारी गरेको छ ।इस्तियाक राईको राम्रो प्रभाव रहेकाले नेपालगञ्जमा जसपालाई कमजोर ठानिहाल्न मिल्दैन ।

कांग्रेस, माओवादी र जसपाबाट नेपालगञ्जको नेतृत्वमा दाबेदारी हुने अवस्था आए सत्तारुढ गठबन्धनको तालमेल हुन सक्ने अवस्था रहँदैन । त्यसको फाइदा एमालेले उठाउन सक्छ ।

एमाले बाँके अध्यक्ष किस्मत कक्षपतिले नेपालगञ्जसहित बाँकेका बहुमत पालिका एमालेले जित्ने दाबी गरे । नेपालगञ्जसहित कोहलपुर नगरपालिकालगायत अन्य सबै पालिकामा अहिले चुनावी चर्चासँगै उम्मेदवारका आकांक्षी निर्वाचनतर्फ होमिएका छन् ।

Nabintech