• ५ फाल्गुन २०८२, मंगलवार
महाधिवेशनको मिति तोक्न नसकेपछि कांग्रेसले फेरि सार्‍यो केन्द्रीय समिति बैठक


काठमाडौं । महाधिवेशनको मिति तोक्न नसकेपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक फेरि सारेको छ।

शनिबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित गर्दै कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बैठक सारेको हो।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबा दिनभरजसो ललितपुरको धोबीघाटस्थित एक होटलमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक गरे पनि महाधिवेशनबारे सहमति जुट्न सकेन।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनावअघि नियमित महाधिवेशन हुनुपर्ने नत्र विशेष महाधिवेशन गरेर जानुपर्ने अडान राखेका थिए।

असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाइसकेकाले विधान अनुसार ३ महिनाभित्र विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नुपर्ने उनीहरूको भनाइ थियो।

सभापति शेरबहादुर देउवा पक्षका केही पदाधिकारी तथा पूर्व पदाधिकारीहरूले भने निर्वाचनमा भाग लिएर मात्रै पार्टीको नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए।

शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिमा नेताहरूबीच सहमति नजुटेपछि कार्यवाहक सभापति खड्काले थप छलफल आवश्यक रहेको भन्दै केन्द्रीय समिति बैठक सारेका हुन्।

नेताहरूका अनुसार कार्यवाहक सभापति खड्काले अब पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँग सामूहिक र ुवान टु वानु छलफल गरी सहमति खोज्नेछन्।

असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक एक महिना हुँदा पनि कुनै पनि निर्णयमा पुग्न सकेको छैन।

सभापति देउवा पक्षका नेताहरूमाथि सभापतिलाई कुरेर बस्दा निर्णय हुन नसकेको भन्दै आलोचना पनि भएको छ।

उपचारका लागि सिंगापुर गएका सभापति देउवा शुक्रबारै बेलुकी स्वदेश फर्किँदै छन्। सभापति देउवा फर्केपछि नेताहरूसँग आवश्यक छलफल गरेर मात्रै केन्द्रीय समितिको बैठकले विभिन्न विषयमा निर्णय लिने बताइएको छ।

महामन्त्री गगन थापाले महाधिवेशन लगायत १० वटा एजेन्डा केन्द्रीय समितिमा छलफलका लागि पेस गरेका थिए। उनले पुस १६ गतेदेखि १९ गतेसम्म १५ औं महाधिवेशनको प्रस्ताव गरेका थिए। तर सहमहामन्त्री महेन्द्र यादवले वैशाख मसान्तमा महाधिवेशन उपयुक्त हुने धारणा राखे।

महामन्त्री र सहमहामन्त्रीको धारणा बाझिएपछि केन्द्रीय समिति बैठकले महाधिवेशनबारे कुनै निर्णय लिन सकेन र थप छलफल आवश्यक देखिएको नेताहरूले बताएका छन्। केन्द्रीय समितिमा कार्यवाहक सभापति खड्काबाहेक सबै नेताहरूले धारणा राखिसकेका छन्।

महामन्त्री थापाले ुनियमित महाधिवेशन गरौं भन्दा समय अभाव लगायत विभिन्न कुराहरू देखाउँदै आलटाल गरिएकाले अब विशेष महाधिवेशन गर्नुपर्नेु बताएका थिए।

थापाले केन्द्रीय समितिको बैठकमै मंसिर २७ र २८ गते विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए।

तर सभापति शेरबहादुर देउवा पक्षका केही पदाधिकारी तथा पूर्व पदाधिकारीहरूले विशेष महाधिवेशन गर्ने हो भने पार्टी विभाजन हुने दाबी गर्दै आइरहेका छन्।

महाधिवेशनबारे केन्द्रीय समिति अनिर्णित भइरहेका बेला विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधरले काठमाडौं लगायत देशका विभिन्न ठाउँहरूमा दबाबमूलक भेलाहरू गर्दै आएका छन्।

साथै सभापति देउवा पक्षका २४ जना केन्द्रीय सदस्यहरूले शुक्रबारै केन्द्रीय कार्यालयमा सामूहिक रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै फागुन २१ गतेको चुनावभन्दा अगाडि महाधिवेशन गरेर जानुपर्ने लगायत मागहरू समेत गरेका छन्।

Nabintech