काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिने भएका छन्।
मुख्यमन्त्री लामाले आइतबार नै प्रदेशप्रमुख सक्षम राजीनामा बुझाउने कांग्रेस बागमती प्रदेश संसदीय दल उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए।
बागमतीमा साउन १४ गते ईन्द्र बानियाँ कांग्रेस संसदीय दल नेता चयन भएका थिए।
त्यतिबेला बानियाँको पक्षमा २२ सांसदले मतदान गरेका थिए। हालका मुख्यमन्त्री लामाको पक्षमा १५ सांसद खुलेका थिए भने एउटा मत बदर भएको थियो।
बागमतीमा कांग्रेसका ३७ सांसद छन्।
संविधानतः मुख्यमन्त्री बन्नका लागि दल नेता हुनुपर्ने प्रावधान नरहेको दाबी गर्दै लामाले दल नेता पराजित भए पनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिएका थिए।
त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री लामालाई काठमाडौं बोलाएर छलफल गरेका थिए।
सभापति देउवासँगको छलफलपछि लामा मुख्यमन्त्रीबाट राजीनामा दिन तयार भएका हुन्।
भेटमा सभापति देउवाले संसदीय दल नेताको निर्वाचन भइसकेको र दल नेता ईन्द्रबहादुर बानियाँ बनिसकेको अवस्थामा मुख्यमन्त्रीबाट मार्गप्रशस्त गर्नु उपयुक्त हुने सुझाव दिएका थिए।
सभापति देउवासँगको भेटपछि मुख्यमन्त्री लामाले आफूलाई साथ दिएकामध्ये अधिकांश सांसदहरूलाई मुख्यमन्त्री पदबाट राजीनामा दिने तयारी रहेको जानकारी गराएका थिए।
मुख्यमन्त्री लामाले साउन १४ गते नै गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाएका थिए। लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकेका थिए भने बाँकी दुई जनाको मन्त्रालय तोकिइसकेको छैन।
ती मन्त्रीहरुको सपथ बिहीबार दिउँसो १ बजे तोकिएको थियो। तर प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्वस्थ भएर बिहीबार बिहानै काठमाडौं आएपछि मन्त्रीहरूको सपथ रोकिएको थियो।
मुख्यमन्त्री लामा पक्षले ती तीन मन्त्रीलाई बानियाँको नेतृत्वमा बन्ने सरकारमा निरन्तरता दिनुपर्ने माग राखेको छ।
मुख्यमन्त्री लामाकै सरकारमा रहेका चार मन्त्रीहरूस आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठले साउन ९ गते राजीनामा बुझाएका थिए।
राजीनामा बुझाएका चार मन्त्रीसहित कांग्रेसका २२ सांसदहरूले मुख्यमन्त्री लामालाई दल नेताबाट हटाउन हस्ताक्षरसमेत गरेका थिए।
लामाले आइतबार राजीनामा बुझाएपछि बागमतीमा कांग्रेस दल नेता चुनिएका बानियाँ मुख्यमन्त्री बन्नेछन्।







