काठमाडौं । टेरामक्स प्रकरणमा आरोपित बनाइएका नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासँग विशेष अदालतले ३ लाख रुपैंया धरौटी माग गरेको छ ।
विशेष अदालतमा न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ३ लाख धरौटी माग गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उनी आइतबार अदालतमा हाजिर भएका थिए। बयान दिएपछि भएको थुनछेक बहसपछि अदालतले ३ लाख धरौटीमा छाड्न भनेको हो।
अख्तियारले गत जेठ १ मा प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतसहित १४ जना र २ कम्पनीलाई प्रतिवादी बनाएर गत जेठ १ मा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।
कानूनी प्रक्रियाविना नागरिकको गोप्य विवरणमा पहुँच राख्न रोक लगाएको अवस्थामा झा लगायत प्राधिकरणका सञ्चालक समितिका पदाधिकारीहरुले टेरामक्स खरिदको निर्णय गर्दै प्रक्रिया अघि बढाएका थिए ।







